नियम १०
सम्पत्ति कर माफी गराउने

(१) औषधालय, देवालय, पाटी, पौवा, धर्मशाला, पब्लिक स्कूल, अनाथालय, परोपकारी तथा धर्म कार्यमा लगाइएका घर, जग्गा बहालमा लिएको नभै सो कार्य गर्ने व्यक्ति वा संस्थाको निजी सम्पत्ति रहेछ र सो कार्य वा घर जग्गाबाट कुनै आम्दानी आउने भए पनि सो आम्दानी त्यस्ता कार्यमा लागी आएको छ भने त्यस्तो घर जग्गामा सम्पत्ति कर माफी गराउन चाहने व्यक्तिले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारमा सप्रमाण आवेदनपत्र पेश गर्नुपर्छ । त्यस्ता कुनै आवेदनपत्र दाखिल भएकोमा त्यसमा लेखिए बमोजिमको कुरा साँचो हो होइन बुझी प्रमुख जिल्ला अधिकारीले आफ्नो ठहर राय सहित सो आवेदनपत्रलाई नेपाल सरकारको अर्थ मन्त्रालयमा पेश गर्नुपर्छ ।

(२) उपरोक्त कार्यमा लगाइएका घर जग्गामा सो कार्य गर्ने व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई बहालमा बसिआएको भए यस्ता घर जग्गाको लाग्ने सम्पत्ति कर माफी हुने छैन । बहाल लिने व्यक्तिले दिनु पर्छ ।

(३) भत्की बिग्री बस्न नहुने भएको घरको हकमा त्यसको धनीले सो कुराको सूचना प्रत्येक साल सम्पत्ति कर अधिकृत छेउ दाखिल गर्नु पर्छ । सम्पत्ति कर अधिकृतले सरजमीन बुझी साँचो देखेमा १ वर्षसम्म लगातार सम्पत्ति कर माफी गर्न सक्नेछ । त्यस्ता सालदेखि नेपाल सरकार अर्थ मन्त्रालयमा प्रतिवेदन गरी निकासा भए बमोजिम गर्नुपर्छ ।